रौतहट — एकै झोक्काको हावाहुरीले वर्षदिनको पसिना बगाएको मेहनत उडायो। सोमबार साँझ आएको भीषण आँधी र असिनापानीले जिल्लाभर करिब चार सय बिघामा लगाइएको केरा खेती तहसनहस बनाएको छ। तर, बाली बिमा नहुँदा किसानको पीडा झन् गहिरिएको छ।

विशेष गरी चन्द्रपुर नगरपालिकाका विभिन्न वडामा ठूलो क्षति पुगेको छ। चन्द्रपुर–३ मा मात्र करिब डेढ करोड रुपैयाँ बराबरको केरा बाली पूर्ण रूपमा नष्ट भएको प्रारम्भिक अनुमान छ। पौराई, जुडिबेला, गैडाटार, चन्द्रनिगाहपुरलगायत क्षेत्रका बगानहरू ढलेका केराका बोटले भरिएका छन्।

“एकैछिनमा सबै सकियो,” स्थानीय किसान दीपक गौतम भन्छन्, “लगानी, समय र श्रम सबै हावाले उडायो।” उनले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका थिए। अहिले बगानमा उभिएका बोटभन्दा ढलेका बोट धेरै देखिन्छन्।

गैँडाटार क्षेत्र, जसलाई जिल्लाकै प्रमुख केरा उत्पादन केन्द्र मानिन्छ, सबैभन्दा बढी प्रभावित भएको छ। यहाँका अधिकांश किसान व्यावसायिक रूपमा केरा खेतीमा निर्भर छन्।

किसानहरूको गुनासो छ—प्राकृतिक विपत्ति त वर्षेनि दोहोरिन्छ, तर सुरक्षाको उपाय छैन। हावाहुरी, रोग र जंगली जनावरको जोखिमबीच खेती गर्दै आएका उनीहरू बिमा नहुँदा हरेक वर्ष घाटा सहन बाध्य छन्।

“बिमा भए लगानी जोगिन्थ्यो,” अर्का किसान रमेश घिमिरे भन्छन्, “तर कम्पनीहरूले जोखिम देखाएर हामीलाई पन्छाउँदै आएका छन्।”

किसानहरूले बाली बिमाका लागि पटक–पटक आवाज उठाए पनि ठोस पहल नहुँदा समस्या ज्यूँका त्यूँ छ। स्थानीय तह र बिमा कम्पनीबीच समन्वय अभावले किसान झन् निराश बनेका छन्।

यता, चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले भने बाली बिमा विस्तारका लागि सहयोग गर्न तयार रहेको बताएका छन्। “किसानको सुरक्षा आवश्यक छ, हामी सहकार्यका लागि तयार छौं,” उनले भने।

जिल्लाभर करिब तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिँदै छ। तर राहत र बिमाको अभावमा किसानहरू अहिले भविष्यप्रति अन्योलमा छन्।

प्रकृतिको प्रहार सहने किसानका लागि बिमा अब विकल्प होइन, आवश्यकता बनेको छ।