नेपालमै पहिलो प्रयास: इलाममा भाङ्गा खेती खुला, कानुनी बहस पनि चर्किँदै
२०८२ चैत्र ५, बिहीबार १३:५५
इलाम — इलाम नगरपालिका ले भाङ्गा खेती प्रवर्द्धन गर्न इच्छुक कृषक, कृषि फर्म तथा सहकारी संस्थाबाट प्रस्ताव माग गरेको छ।
नगरपालिकाले २०८२ फागुन २७ गते सार्वजनिक सूचना जारी गर्दै ‘भाङ्गा खेती प्रवर्द्धन तथा व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको जनाएको छ।
भाङ्गा खेती गर्न चाहनेले कम्तीमा ५ रोपनी क्षेत्रफलमा एकै चक्लाबन्दीमा खेती गर्नुपर्नेछ। साथै, खेती क्षेत्रलाई सुरक्षित बनाउन पर्खाल वा तारबार अनिवार्य गरिएको छ। उत्पादन र व्यवस्थापनको पारदर्शिता कायम गर्न नियमित अनुगमन र विवरण पेश गर्नुपर्ने प्रावधान पनि राखिएको छ।
आवेदनका लागि नागरिकता प्रमाणपत्र, जग्गाधनी पूर्जा, कर चुक्ता प्रमाणपत्र, संस्था दर्ता प्रमाणपत्र तथा पान भ्याट लगायतका आवश्यक कागजात अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले यस कदमलाई औषधीय तथा औद्योगिक प्रयोजनका लागि भाङ्गा खेतीलाई व्यवस्थित र कानुनी दायरामा ल्याउने प्रयासका रूपमा लिएको जनाएको छ।
नगरपालिका बोर्डबाट अनुमोदन गरी कार्यविधि निर्माण गरेर काम अगाडि बढाइएको नगरपालिकाका सुचना अधिकारी बबुल भक्तराजले विराटपाटी अनलाइनलाई जानकारी दिएका छन्। उनका अनुसार नेपालमै पहिलोपटक कुनै स्थानीय तहले यस्तो प्रकारको भाङ्गा खेती सुरु गर्न लागेको हो।
तर, नेपालमा विद्यमान कानुन अनुसार भाङ्गा तथा गाँजाको खेती, उत्पादन, बिक्री वितरणमा रोक रहेको छ। यस्तो अवस्थामा स्थानीय तहको यो निर्णयले कानुनी र नीतिगत बहस समेत उत्पन्न गराएको छ।





