काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न भागमा तीव्र हावाहुरीसहित वर्षा हुने चेतावनी जारी गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, सोही दिनदेखि लुम्बिनी प्रदेशअन्तर्गत दाङ र नेपालगन्ज आसपासका तराई क्षेत्रहरूमा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ।

त्यसैगरी, चैत ७ गते शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा समेत झन्डै ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्न सक्ने प्राधिकरणले जनाएको छ।

प्रि–मनसुनको यो समयमा आउने हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जस्ता जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भइसकेको जनाइएको छ।

प्राधिकरणले नागरिकलाई घरभित्र सुरक्षित बस्न, झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोत नियन्त्रणमा राख्न तथा हावाहुरीका बेला सवारीसाधन रोक्न अनुरोध गरेको छ। साथै, अग्ला रुख, कमजोर संरचना, विद्युत् खम्बा तथा तारमुनि नबस्न, लत्रिएको तार नछुन र जोखिमपूर्ण स्थानबाट टाढा रहन समेत आग्रह गरिएको छ।