पार्टी प्रभावबाट बाहिरिँदैः नेपाल विद्यार्थी संघले रोज्यो स्वतन्त्र बाटो
२०८२ चैत्र ६, शुक्रबार १८:४९
काठमाडौं, चैत ६ — नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेससँगको औपचारिक सम्बन्ध तोड्दै अब भातृसंस्थाका रूपमा नरहने निर्णय गरेको छ। काठमाडौंमा सम्पन्न सिनेट बैठकले नेविसंघलाई पूर्ण कार्यगत स्वायत्ततासहित विद्यार्थी हितका लागि स्वतन्त्र रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको हो।
नेविसंघले कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था कायम रहने जनाए पनि पार्टीको प्रत्यक्ष प्रभाव र संरचनाभित्र नरहने स्पष्ट पारेको छ। यस निर्णयसँगै नेविसंघ अब स्वतन्त्र विद्यार्थी संगठनका रूपमा परिचालित हुने भएको छ।
अध्यक्ष दुजाङ शेर्पाले सिनेट बैठकलाई संस्थाको महत्वपूर्ण नीतिगत र वैधानिक निर्णय गर्ने थलोका रूपमा व्याख्या गर्दै बदलिँदो समयअनुसार विद्यार्थी आन्दोलनमा सुधार आवश्यक ठानिएको बताए। “अब हामी सैद्धान्तिक रूपमा साथमा रहन्छौं, तर कार्यप्रणालीमा पूर्ण स्वतन्त्र हुनेछौं,” उनले भने।
उनका अनुसार भातृसंस्थाका रूपमा रहँदा संगठनको विश्वसनीयता र विद्यार्थी आन्दोलनको स्वतन्त्रतामाथि प्रश्न उठ्न थालेकाले यो निर्णय आवश्यक भएको हो। लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहँदै अब विद्यार्थीको हित र विवेकअनुसार संगठन सञ्चालन गरिने उनले बताए।
यसैबीच, सिनेट बैठकले नेविसंघको आगामी अधिवेशन वैशाख २० र २१ गते आयोजना गर्ने निर्णय पनि गरेको छ।




