आयात–निर्यात दुवै बढे, सन्तुलन अझै कमजोर

काठमाडौं,  चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्म आइपुग्दा नेपालले करिब ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म कुल वैदेशिक व्यापार १४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ, जसमा १० खर्ब ९८ अर्ब रुपैयाँ घाटा रहेको छ।

यस अवधिमा १२ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने निर्यात एक खर्ब ९१ अर्ब रुपैयाँमा सीमित रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशतले बढेको छ भने निर्यात २९.८३ प्रतिशतले वृद्धि भएको देखिन्छ।

नेपालको व्यापारमा भारतसँगको निर्भरता अझै उच्च देखिएको छ। भारतसँग मात्र ५ खर्ब ६७ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ। भारतबाट ७ खर्ब २४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। चीनसँग पनि २ खर्ब ६४ अर्ब रुपैयाँ व्यापार घाटा देखिएको छ, जहाँबाट २ खर्ब ७५ अर्ब रुपैयाँ आयात र करिब एक अर्ब रुपैयाँ निर्यात भएको छ।

अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि उच्च व्यापार घाटा रहेको छ। यद्यपि, रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्यासँग भने सीमित मात्रामा व्यापार नाफा भएको देखिन्छ।

आयाततर्फ पेट्रोलियम पदार्थले ठूलो हिस्सा ओगटेको छ। आठ महिनामा ८२ अर्ब रुपैयाँको डिजेल, ४३ अर्ब रुपैयाँको पेट्रोल र ३७ अर्ब रुपैयाँको एलपी ग्यास आयात भएको छ। साथै कच्चा भटमास तेल, स्मार्टफोन, फलामजन्य सामग्री, सुन र चाँदीको आयात पनि उल्लेख्य रहेको छ।

निर्याततर्फ भने भटमास तेल प्रमुख वस्तुका रूपमा अगाडि छ, जसको निर्यात ७५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। त्यस्तै अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल पनि प्रमुख निर्यात वस्तुमा पर्छन्

आयात र निर्यात दुवै बढ्दो क्रममा रहे पनि नेपालको व्यापार सन्तुलन सुधार हुन सकेको छैन। उच्च आयात निर्भरता र सीमित निर्यात क्षमताले अर्थतन्त्रमा दबाब कायमै रहेको देखिन्छ।