मोरङमा बर्ड फ्लुको चपेटा: नियन्त्रणभन्दा ढिलासुस्ती बलियो
२०८२ चैत्र १०, मंगलवार २०:५८
विराटनगर ,मोरङमा बर्ड फ्लु संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा सम्बन्धित निकायको सुस्त प्रतिक्रिया र कमजोर कार्यान्वयनप्रति स्थानीय स्तरमा असन्तोष बढ्दै गएको छ। संक्रमण पुष्टि भएपछि तत्काल कडाइका साथ नियन्त्रण उपाय अपनाउनुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा त्यसको प्रभावकारिता देखिएको छैन।
विराटनगर स्थित एक कृषि फर्ममा गत बुधबारदेखि कुखुरा मर्न सुरु भए पनि संक्रमण पुष्टि हुन चार दिन लागेको थियो। त्यसबीचमा आवश्यक सतर्कता नअपनाइँदा जोखिम झन् बढेको स्थानीयको गुनासो छ। शनिबारसम्म करिब ३ हजार कुखुरा मरेका थिए भने आइतबार मात्र बर्ड फ्लु पुष्टि भएको रिपोर्ट आएको थियो।
संक्रमण पुष्टि भएपछि पनि नियन्त्रण कार्यमा ढिलाइ हुँदा प्रभावित क्षेत्रमा झन्डै ६ दिनसम्म कुनै विशेष सुरक्षा प्रबन्ध गरिएको थिएन। फर्म सञ्चालक बोधराज दाहालले निकायको लापरबाहीले संक्रमण फैलिने खतरा बढाएको बताए।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विराटनगरका अनुसार हालसम्म सुन्दरहरैंचा, उर्लाबारी, कटहरी र विराटनगरका विभिन्न क्षेत्रमा करिब ५५ हजार कुखुरा नष्ट गरिसकिएको छ। अन्य स्थानबाट पनि कुखुरा मर्ने खबर आउने क्रम जारी छ र परीक्षण प्रक्रिया चलिरहेको छ।
विज्ञहरूका अनुसार बायोसेक्युरिटीको अभाव, मापदण्ड विपरीत फर्म सञ्चालन र नियमनको कमजोरी संक्रमण फैलिनुको मुख्य कारण हुन्। पन्छीरोग विज्ञहरूले प्रभावित क्षेत्र घोषणा गरी आवतजावत र पंक्षीजन्य वस्तुको ओसारपोसारमा कडाइ नगरे संक्रमण अझ फैलिने चेतावनी दिएका छन्।
नियन्त्रणमा ढिलाइ, कमजोर अनुगमन र किसानको बढ्दो क्षतिसँगै मोरङमा बर्ड फ्लु संकट झन् जटिल बन्दै गएको छ।




