काठमाडौं । हिन्दूहरूको महान पर्व छठ पूजा आज बिहान उदीयमान सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिवत रूपमा सम्पन्न भएको छ। चैत शुक्ल पक्षको सप्तमी तिथिमा पर्ने उदाउँदो सुर्य देवलाई अर्घ्य आज  बिहान करिब ६:२० बजे दिइएको पञ्चाङ्गमा उल्लेख छ।

चार दिनसम्म चल्ने यस पर्वको अन्तिम दिन व्रतालुहरूले नदी, तलाउ, पोखरी तथा घर–आँगनमै पानीको व्यवस्था गरी उदीयमान सूर्यको पूजा गरेका थिए। यसअघि साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि आज बिहान पुनः उदाउँदो सुर्य देवलाई अर्घ्य अर्पण गरी व्रत समापन गरिएको हो।

नेपालका तराई–मधेशका जिल्लाहरू जस्तै बिराटनगर, जनकपुर, वीरगञ्ज लगायतका स्थानहरूमा विशेष उत्साहका साथ छठ पर्व मनाइएको छ। साथै पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रहरूमा पनि यसको प्रभाव बढ्दै गएको देखिन्छ।

व्रतालुहरूले पूजा सम्पन्न गरेपछि प्रसाद ग्रहण गर्दै व्रत तोडेका छन्। सूर्यदेवको आराधना गरिने यस पर्वले पारिवारिक सुख, समृद्धि र स्वास्थ्यको कामना गर्ने धार्मिक विश्वास रहेको छ।