कांग्रेसको १५औँ महाधिवेशन असोज १६ काठमाडौंमा
२०८२ चैत्र ११, बुधबार १८:०४
काठमाडौं, — नेपाली कांग्रेस ले आफ्नो १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकले चरणबद्ध कार्यतालिका सार्वजनिक गर्दै अधिवेशन प्रक्रिया भदौ महिनाबाट सुरु हुने जनाएको हो।
सार्वजनिक कार्यतालिकाअनुसार भदौ २ गते वडा अधिवेशनबाट प्रक्रिया सुरु हुनेछ। त्यसपछि भदौ ७ गते गाउँ/नगर अधिवेशन, भदौ १७ गते प्रदेश क्षेत्रीय अधिवेशन र भदौ २४ गते क्षेत्रीय अधिवेशन सम्पन्न गरिनेछ।
त्यसैगरी, असोज २ र ३ गते जिल्ला अधिवेशन तथा असोज ७ र ८ गते प्रदेश अधिवेशन हुनेछन्। सबै चरण पूरा भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गरिनेछ।
बैठकले निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का लाई निर्वाचन समिति संयोजकको जिम्मेवारी दिएको छ।
नयाँ नेतृत्व चयन र पार्टीको भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण थलोका रूपमा यस महाधिवेशनलाई हेरिएको छ।




