खप्तडको काखमा नयाँ आशा: पदाधिकारीले लिए शपथ, सुरु भयो नयाँ अभियान
२०८२ चैत्र १२, बिहीबार २१:५१
कैलाली । सुदूरपश्चिमको गौरव मानिने खप्तड क्षेत्र अब नयाँ ऊर्जा र योजनासहित अघि बढ्ने संकेत देखिएको छ। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव दीर्घनारायण कोइराला ले सर्वप्रथम अध्यक्ष जमुना चन्द लाई शपथ गराए। त्यसपछि अध्यक्ष चन्दले सदस्यहरू मयादेवी कुँवर र गोकुलदेवी सिंह लाई शपथ गराइन्।
सुदूरपश्चिम प्रदेश सरकारले खप्तडको समग्र विकासलाई गति दिने लक्ष्यसहित बझाङकी चन्दलाई अध्यक्षमा नियुक्त गरेको हो। कार्यक्रममा बाजुराका मीनबहादुर शाही भने अनुपस्थित रहे।
शपथपछि सचिव कोइरालाले पदाधिकारीहरूलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै खप्तड क्षेत्रको संरक्षण, प्रवर्द्धन र प्रभावकारी व्यवस्थापनमा तीव्रता दिन आग्रह गरे।
अध्यक्ष चन्दले खप्तडको विशाल सम्भावनालाई उजागर गर्दै पूर्वाधार विकास, वातावरणीय सन्तुलन र स्थानीय रोजगारी सिर्जनामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा समितिका कार्यकारी निर्देशक खेमराज जोशी र मध्यवर्ती समिति अध्यक्ष नरेन्द्रबहादुर सिंह सहित अन्य सरोकारवालाको उपस्थिति थियो।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताको अद्भुत संगम मानिने खप्तड क्षेत्र अब नयाँ योजनासहित अघि बढ्ने दाबी गरिएको छ—हेर्न बाँकी छ, यी प्रतिबद्धता व्यवहारमा कति छिटो रूपान्तरण हुन्छन्।




