इटहरी , सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (लाइसेन्स कोशी)का प्रमुख सतिस सत्याललाई मन्त्रालय तानिएको छ। स्वास्थ्य परीक्षणमा फेल भएका सेवाग्राहीलाई पास गराएको आरोप पुष्टि भएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीले उनलाई कारबाहीस्वरूप मन्त्रालय झिकेको हो।

मन्त्रालयका अनुसार लिखित तथा मौखिक गुनासोका आधारमा सचिव आस्मान तामाङको नेतृत्वमा छड्के अनुगमन गरिएको थियो। अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा असफल भएकालाई पास गराइएको पाइएको जनाइएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले अनियमितता देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले घटनाबारे थप अध्ययन भइरहेको बताए। अनुगमन टोलीले कार्यालय प्रमुखको कार्यकक्ष समेत सिल गरेको छ।

यातायात व्यवस्था कार्यालयमा स्वास्थ्य परीक्षणका नाममा सेवाग्राहीसँग आर्थिक लाभ लिने गरेको गुनासो लामो समयदेखि उठ्दै आएको थियो। सोही समस्यालाई समाधान गर्न मन्त्रालयले गत साउनदेखि यातायात कार्यालयमै डाक्टर नियुक्त गर्ने व्यवस्था लागू गरेको छ। हाल झापा, इटहरी र विराटनगरका कार्यालयमा विशेषज्ञ डाक्टर खटाइएको मन्त्रालयले जनाएको छ।

आरोपबारे प्रतिक्रिया दिँदै प्रमुख सत्यालले आफूले कुनै अनियमितता नगरेको दाबी गरेका छन्। उनले सेवाग्राहीलाई सहजता दिन पुनः परीक्षण (रिचेक)का लागि सिफारिस मात्र गरेको र त्यसैलाई आधार बनाएर आरोप लगाइएको बताए। “मैले एक रुपैयाँ पनि लिएको छैन, छानबिनले सत्य बाहिर ल्याउँछ,” उनले भने।