काठमाडौं । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने तयारीलाई प्रशासनले तत्काल रोक लगाएको छ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको उक्त भवन भत्काएर नयाँ संरचना निर्माण गर्न खोजिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि काम रोकिएको हो।

प्रहरीले स्थलमै पुगेर भत्काउने काममा संलग्न कामदारहरू हटाएको छ भने घटनास्थललाई नियन्त्रणमा लिएको जनाएको छ।

यसअघि प्रदर्शनका क्रममा जलेको घरभित्रबाट विदेशी मुद्रा (डलर) र नेपाली नगद फेला परेको विषयले थप तरंग सिर्जना गरेको थियो। उक्त रकम त्यसबेलै सम्बन्धित निकायले नियन्त्रणमा लिएको बताइएको छ।

यसैबीच,आरजु देउवा सहित देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको उच्च स्रोतले जनाएको छ।

घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ बहस सुरु गराएको छ।