सुनसरी, दुहबी — दुहबी नगरपालिकामा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रलाई थप आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले भारत सरकारले १८ करोडभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ।

आइतबार वडा नं. ४ मा आयोजित शिलान्यास कार्यक्रममा भारतीय दूतावासका सचिव नारायण सिंहले उक्त रकम बराबरको चेक नगरप्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गरेका हुन्।

नेपाल सरकार, भारतीय दूतावास र दुहबी नगरपालिका बीच भएको त्रिपक्षीय सम्झौताअनुसार यो परियोजना अघि बढाइएको हो। नगरप्रमुख गच्छदारका अनुसार प्राप्त अनुदानले प्रशोधन केन्द्रलाई उच्चस्तरीय प्रविधिसहित पूर्णरूपमा सञ्चालनमा ल्याउन सहयोग पुग्नेछ।

निर्माण कार्य सिद्धार्थ दर्शन चौरसिया जेभीले जिम्मा पाएको छ भने सन् २०२७ जुलाई ४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनाको प्राविधिक पक्षबारे जानकारी दिँदै भारतीय दूतावासका इन्जिनियर सबिन न्यौपानेले निर्धारित समयमै काम सक्ने प्रतिबद्धता व्यक्त गरे।

हाल नगरपालिकाले करिब ३ करोड रुपैयाँ लगानीमा १६ विगाह क्षेत्रफलमा केन्द्र निर्माण गरिरहेको छ। नयाँ सम्झौतापछि यसको क्षमता र गुणस्तर दुवैमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

प्रशोधन केन्द्रमा करिब १५ जना कर्मचारी रहने तथा आवास सुविधासमेत रहने जनाइएको छ। यसले नगर क्षेत्रमा दैनिक रूपमा निस्किने फोहोरलाई व्यवस्थित रूपमा सङ्कलन र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।