धनगढीमा ‘पेपरलेस’ अभियान सुरु, सेवा डिजिटल—अन्य स्थानीय तह धेरै पछाडि
२०८२ चैत्र १८, बुधबार ०९:३३
धनगढी उपमहानगरपालिकाले सरकारी कामकाजलाई पूर्णतया प्रविधिमैत्री बनाउने लक्ष्यसहित ‘पेपरलेस धनगढी’ अवधारणा कार्यान्वयनमा ल्याएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उपमहानगरले सेवाग्राहीलाई छिटो, छरितो र झन्झटमुक्त सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ डिजिटल प्रणाली सुरु गर्न लागिएको जानकारी दिएको हो।
उपमहानगर प्रमुख गोपाल हमालका अनुसार पछिल्लो समय धनगढीमा बाहिरी जनसंख्याको चाप उल्लेख्य रूपमा बढ्दै गएको छ। यस्तो अवस्थामा डिजिटल प्रणालीले वास्तविक करदाता र नगरवासीको पहिचान गर्न सहज बनाउने उनले बताए।
उनका अनुसार यस प्रणालीबाट उपमहानगरले प्रदान गर्ने सेवा–सुविधा आफ्ना नागरिकलाई प्राथमिकताका साथ उपलब्ध गराउन थप सहयोग पुग्नेछ।
तर, देशका धेरै स्थानीय तहहरू भने अझै पनि जनताको अपेक्षा अनुसार सञ्चालन हुन सकेका छैनन्। समय सापेक्ष सेवा प्रवाह र प्रविधिमैत्री व्यवस्थापनमा ती निकायहरू पछाडि परिरहेको देखिन्छ। यस सन्दर्भमा धनगढीको ‘पेपरलेस’ पहल अन्य स्थानीय तहका लागि उदाहरणीय कदमका रूपमा हेरिएको छ।




