सेती नदीमा अन्तर्राष्ट्रिय महसिर एङ्लिङ प्रतियोगिता, जलपर्यटन प्रवर्द्धनमा नयाँ आयाम
२०८२ चैत्र २१, शनिबार १८:१५
दिपायल/चिसापानी, नेपालमा जलपर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिमको सेती नदीमा पहिलो पटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महसिर एङ्लिङ प्रतियोगिता’ सम्पन्न भएको छ। गत मार्च २२ तारिखमा डोटीको दिपायलबाट सुरु भएको प्रतियोगिता कैलालीको कर्णाली चिसापानीमा पुगेर सम्पन्न भएको हो।
प्रतियोगितामा सुनौलो महसिर (Golden Mahseer) माछा ‘क्याच एण्ड रिलिज’ (पक्रेर पुनः छोड्ने) विधिबाट समात्ने प्रतिस्पर्धा गरिएको थियो। स्थानीय डोटेली भाषामा सट्टो वा सहर माछा भनेर चिनिने यो प्रजाति दुर्लभ मानिन्छ।
प्रतियोगितामा नेदरल्यान्ड्सका नागरिक मेसल डेकरले १ मिटर १७ सेन्टिमिटर लामो महसिर समातेर उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै, सबैभन्दा कान्छा सहभागी १८ वर्षीय नोहा डेकरले १ मिटर १३ सेन्टिमिटर लामो माछा समातेका थिए। उनीहरू बाउ–छोरा हुन्।
यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेदरल्यान्ड्स, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड, भारत र नेपालका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल पर्यटन बोर्ड को अगुवाइमा सुदूरपश्चिम र कर्णाली प्रदेश सरकार तथा विभिन्न स्थानीय तहको सहकार्यमा आयोजना गरिएको हो।
पर्यटन बोर्डका प्रमुखका अनुसार अफगानिस्तानदेखि युनानसम्म फैलिएको यस प्रजातिको माछा विश्वका धेरै नदीहरूबाट लोप हुँदै गएको छ। नेपालमा भने सुदूरपश्चिमको सेती नदी यसका लागि महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ। बोर्डले हरेक वर्ष मार्च महिनामा यस्ता प्रतियोगिता आयोजना गर्ने योजना समेत अघि सारेको जनाएको छ।
यो प्रतियोगिताले सुदूरपश्चिम क्षेत्रको प्राकृतिक स्रोतको संरक्षणसँगै जलपर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन सम्भावना उजागर गर्ने विश्वास लिइएको छ।
पर्यटन क्षेत्रमा क्रियाशील अभियन्ताहरूले यस्ता कार्यक्रमले नेपाललाई साहसिक तथा पर्यावरणीय पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताएका छन्।




