विद्यालयमा एकपटक मात्र भर्ना शुल्क, अग्रिम असुलीमा रोक
२०८२ चैत्र २४, मंगलवार २०:१०
काठमाडौ ,शिक्षा मन्त्रालय ले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क लिन देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ। साथै, शैक्षिक सत्र सुरु हुनुअघि भर्ना नगर्न समेत स्पष्ट रूपमा आग्रह गरिएको छ।
मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेल द्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाई जानकारी गराउँदै ७५३ वटै स्थानीय तहलाई प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न भनिएको छ।
केही विद्यालयहरूले अग्रिम भर्ना गर्ने, अत्यधिक शुल्क असुल गर्ने तथा कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिने गुनासो बढेपछि मन्त्रालयले यस्तो कडाइ गरेको हो।
शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र सुरु नभई भर्ना गर्न नपाइने प्रावधान स्मरण गराउँदै, नियमविपरीत असुल गरिएको शुल्क तत्काल अभिभावकलाई फिर्ता गर्न निर्देशन दिइएको छ। उल्लंघन गर्ने विद्यालयमाथि कानुनअनुसार कडा कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ।




