प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। यो निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा गरिएको हो।

यसअघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र पठाउँदै मन्त्री साहलाई हटाउन आग्रह गरेका थिए। पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनले मन्त्री साहले पदको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराएको निष्कर्ष निकालेको उल्लेख गरिएको छ।

पत्रमा यस्तो गतिविधिले पार्टीको छवि, सिद्धान्त र मर्यादामा नकारात्मक असर पर्ने देखिएको भन्दै आवश्यक कारबाही गर्न भनिएको थियो। साथै, यस्तै विषयमा अपेक्षित गम्भीरता नदेखिएको आरोपसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरिएको छ।

पार्टी विधानअनुसार ‘राइट टु रिकोल’ व्यवस्था प्रयोग गर्दै मन्त्रीलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गरिएको हो।