काठमाडौं — नेपाली कांग्रेस ले पार्टी सदस्यता प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ। सभापति गगन थापा ले अबदेखि सदस्यता लिन तथा नवीकरण गर्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा आफ्नो वडा कार्यालयमा उपस्थित हुनुपर्ने स्पष्ट पारेका छन्।

उनका अनुसार सदस्यता अद्यावधिक प्रक्रिया एकपटकका लागि अनिवार्य गरिएको छ, जसअन्तर्गत प्रत्येक सदस्यले वडा कार्यालयमै पुगेर शपथ लिनुपर्ने व्यवस्था गरिएको छ। यसअघि जस्तो फारम भर्ने प्रचलनलाई अन्त्य गर्दै पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यताको अभिलेख राख्ने तयारी गरेको छ।

थापाले चेतावनी दिँदै भने— प्रक्रिया पूरा नगर्ने व्यक्तिहरूले पार्टीको महाधिवेशनमा भाग लिन पाउने छैनन्। उनले यसलाई सदस्यता खारेजी नभई ‘अद्यावधिक अभियान’का रूपमा व्याख्या गरेका छन्।

कांग्रेसले आगामी दिनमा संगठन सुदृढीकरण र व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो व्यवस्था लागू गरेको जनाइएको छ।