सिंहदरबारमा ५ घण्टा संवाद: समानुपातिक सांसदका मुद्दा सुन्दै बालेन शाह
२०८३ बैशाख २, बुधबार १८:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले सिंहदरबारमा करिब पाँच घण्टासम्म बसेर विभिन्न दलका समानुपातिक सांसदहरूसँग प्रत्यक्ष संवाद गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सांसदहरूले आफ्ना क्लस्टरका समस्या, चुनौती र समाधानका सुझावहरू खुलेर राखेका थिए। प्रधानमन्त्रीले दलगत सीमाभन्दा माथि उठेर सबैको कुरा ध्यानपूर्वक सुनेकाे सहभागीहरूले बताएका छन्।
छलफलमा सहभागी सांसदहरूले समानुपातिक प्रणालीअन्तर्गत रहेका विविध समुदायका मुद्दा साझा गर्ने र आपसी बुझाइ बढाउने उद्देश्य रहेको बताएका छन्। एक क्लस्टरको समस्या अर्कोले पनि बुझ्ने वातावरण बनाउनु आवश्यक रहेको उनीहरूको धारणा थियो।
सांसदहरूले प्रधानमन्त्रीबाट शिक्षा, स्वास्थ्य, समानता र समावेशीताका विषयलाई थप प्राथमिकतामा राखिने संकेत पाएको बताएका छन्। साथै, सरकारको हालको नीतिगत पहललाई निरन्तरता दिँदै आवश्यक सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त भएको जनाइएको छ।




