देवकुमारी थापा स्मृतिमा उदास–श्रेष्ठको सम्मान
२०८३ बैशाख ५, शनिबार २२:००
विराटनगर, ५ वैशाख, साहित्य र सञ्चार क्षेत्रका दुई महत्वपूर्ण नाम—वरिष्ठ कवि ज्ञान उदास र सञ्चारकर्मी संगीता श्रेष्ठ—लाई बबरसिंह–देवकुमारी थापा सेवा गुठीले एक विशेष समारोहबीच सम्मानित गरेको छ।
शनिबार आयोजित कार्यक्रममा दीर्घकालीन साहित्यिक योगदानका लागि उदासलाई ‘देवकुमारी थापा स्मृति सम्मान’ प्रदान गरियो। करिब ६ दशकदेखि कविता, गीत, मुक्तक र बालसाहित्यमा सक्रिय उनको सिर्जनात्मक यात्रालाई नेपाली साहित्यको अमूल्य सम्पत्ति भन्दै वक्ताहरूले प्रशंसा गरे। सम्मानस्वरूप उनलाई नगद ५१ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।
त्यसैगरी, सञ्चार, साहित्य र चलचित्र निर्देशनमार्फत समाजका विविध आयामलाई अभिव्यक्त गर्दै आएकी संगीता श्रेष्ठ ‘बबरसिंह थापा स्मृति सम्मान’बाट सम्मानित भइन्। उनको बहुआयामिक योगदानको कदर गर्दै नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. रामबहादुर थापा तथा गुठीका अध्यक्ष प्रा. कविराज न्यौपानेले स्रष्टाहरूको निरन्तर साधना नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए। वक्ताहरूले साहित्यकार स्व. देवकुमारी थापाको योगदान स्मरण गर्दै नेपाली बालसाहित्य र भाषाको विकासमा उनको ऐतिहासिक भूमिका रहेको उल्लेख गरे।
समारोहमा उपस्थित साहित्यकार तथा सरोकारवालाहरूले स्थानीय तहमा यस्ता कार्यक्रमले साहित्यिक वातावरणलाई अझ सशक्त बनाउने धारणा राखे।
अध्यक्ष न्यौपानेले गुठीले आगामी दिनमा पनि साहित्य, कला र सञ्चार क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान र प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले देवकुमारी थापा केवल कथाकार मात्र नभई विशिष्ट सृजनात्मक क्षमताले स्थापित एक महत्वपूर्ण साहित्यकार भएको उल्लेख गरे।
विभिन्न साहित्यकार तथा समाजसेवीहरूकाे उल्लेखनीय उपस्थिति रहेको थियो भनेर काेषाध्यक्ष हरिमाेहन श्रेष्ठले वताए ।




