काठमाडौं, वैशाख ९, गृहमन्त्री सुधन गुरुङको आकस्मिक राजीनामापछि देशको सुरक्षा संयन्त्रमा तीव्र हलचल देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले तत्कालै सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबार बोलाएर उच्चस्तरीय छलफल गरेका छन्।

प्रधानमन्त्रीको निर्देशन लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग का प्रमुखहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।

राजीनामाअघि गृहमन्त्री गुरुङ र प्रहरी महानिरीक्षकबीच पनि महत्वपूर्ण भेटवार्ता भएको स्रोतले जनाएको छ।

 त्यसपछि विकसित राजनीतिक घटनाक्रमबीच प्रधानमन्त्रीले सुरक्षा अवस्था, शान्ति–सुरक्षा रणनीति तथा आगामी कदमबारे छलफल गर्न आकस्मिक बैठक बोलाएका हुन्।

सरकारले अब गृहमन्त्रालयको जिम्मेवारी कसले लिने र सुरक्षा नीति कसरी अघि बढ्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने संकेत दिएको छ। हालको घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो र चर्चा दुवै बढाएको छ।