काठमाडौं, वैशाख १० – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छाडेर ‘कुलिङ पिरियड’ मा रहेका पूर्वमन्त्री सुदन किरातीबीच राजनीतिक सहकार्य तथा पार्टी एकीकरण अन्तिम चरणमा पुगेको छ।

दुवै पक्षबीच विभिन्न चरणमा भएको छलफलपछि एकताको ढोका खुलेको बताइएको छ। प्रारम्भिक सहमतिअनुसार वैचारिक र सैद्धान्तिक विषयमा अझै छलफल जारी रहे पनि समग्र सहकार्य नजिक पुगेको दुवै पक्षका नेताहरूले बताएका छन्।

श्रम संस्कृतिका उपाध्यक्ष लोकनाथ चुँडालका अनुसार दुवै पक्ष सहकार्यका लागि तयार छन् र उत्पादनमूलक समाजवादी अर्थतन्त्रलाई मुख्य आधार बनाउने विषयमा सहमति बन्ने सम्भावना छ।

प्रारम्भिक समझदारीअनुसार सुदन पक्षबाट करिब १५ जना केन्द्रीय सदस्य पार्टीमा समावेश हुने र केही पदाधिकारीहरू समेत रहने चर्चा छ। सुदन किरातीलाई वरिष्ठ नेताको भूमिकामा ल्याउने सम्भावना पनि रहेको स्रोतहरूले जनाएका छन्।

हाल श्रम संस्कृति पार्टीमा २८ जना केन्द्रीय सदस्य छन् भने विधानअनुसार १३३ सदस्यीय केन्द्रीय समिति र २०० सदस्यीय केन्द्रीय सभा रहने व्यवस्था छ।

पार्टी एकीकरणपछि पद तथा उम्मेदवारी सम्बन्धी निर्णयहरू पछि टुंगो लगाइने बताइएको छ। दुवै पक्षले चाँडै औपचारिक घोषणा गर्ने तयारी गरिरहेको जनाइएको छ।