विराटनगर , नेपाली नियात्रा साहित्यको यात्रामा एउटा नयाँ अध्याय थपिएको छ। पत्रकार तथा साहित्यकार कृष्ण अधिकारी को कृति ‘मैले देखेको अमेरिका’ सार्वजनिक भएसँगै पाठकसामु अमेरिका केवल भूगोल होइन, अनुभूति, संस्कार र समयको गति बनेर उभिएको छ।

नेपाली लेखक संघ, कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा कृतिले भौतिक सम्पन्नताभित्र लुकेको मानवीय कथा उजागर गरेको धारणा वक्ताहरूले व्यक्त गरे।

प्रमुख अतिथि प्रा.डा. गोपाल भण्डारी ले पुस्तकलाई “लोकतान्त्रिक अभ्यास, सामाजिक संरचना र आधुनिक जीवनशैलीको समग्र प्रतिबिम्ब” को रूपमा व्याख्या गरे।

कृतिको साहित्यिक मूल्यांकन गर्दै कवि मनु मञ्जिल ले भने, “यो कृति तथ्य र संवेदनाबीचको एउटा सुन्दर सेतु हो, जहाँ पाठकले अमेरिका मात्र होइन, आफ्नै चेतनालाई पनि भेट्छ।”

समालोचक प्राध्यापक भूषण ढुङ्गेल ले सरलता नै कृतिको शक्ति भएको उल्लेख गर्दै यसलाई “व्यस्त समयका पाठकका लागि छोटो तर गहिरो साहित्य” को संज्ञा दिए।

यसैबीच, प्राध्यापक तथा साहित्यकार कविराज न्यौपाने ले कृतिमाथि साहित्यिक भावनामा डुबेर यस्तो मन्तव्य व्यक्त गरे “दिङ्लाको माटोबाट उठेको आँखाले जब अमेरिकालाई हेर्छ, त्यहाँ केवल गगनचुम्बी भवनहरू देखिँदैनन्; देखिन्छ समयसँग दौडिरहेको मानिस, संस्कृतिसँग संघर्ष गरिरहेको आत्मा र स्मृतिमा बाँचेको आफ्नोपन। ‘मैले देखेको अमेरिका’ वास्तवमा दूरीको कथा होइन, अनुभूतिको यात्रा हो।”उनले लेखकले दुई फरक भूगोलबीचको संवेदनशील पुल निर्माण गरेको उल्लेख गर्दै यस कृतिलाई “भौगोलिक सीमाभन्दा परको मानवीय संवाद” को रूपमा व्याख्या गरे।

साहित्यकार बद्रीविशाल पोखरेल ले आधुनिक अमेरिका बुझ्न यो कृति अनिवार्य पठन सामग्री भएको बताए भने विराटनगर प्राज्ञ प्रतिष्ठान का अध्यक्ष विवश पोखरेल ले पुस्तकले पाठकलाई आरम्भदेखि अन्त्यसम्म बाँधिराख्ने विश्वास व्यक्त गरे।

लेखक कृष्ण अधिकारी स्वयंले भने, “साना तर अर्थपूर्ण क्षणहरूले नै समाजको वास्तविक अनुहार देखाउँछन्,” र यही विश्वासलाई आत्मसात गर्दै उनले छोटा तर सघन संस्मरणमार्फत आफ्नो यात्रा प्रस्तुत गरेका छन्।

कार्यक्रम गोकुल अधिकारी को अध्यक्षतामा सम्पन्न भएको थियो, जहाँ विभिन्न साहित्यकार  लगायतका वक्ताहरूले नियात्रा साहित्यमा अन्तर्राष्ट्रिय अनुभवको बढ्दो प्रवृत्तिलाई सकारात्मक संकेतको रूपमा व्याख्या गरे।