लुम्बिनी , बुद्ध जयन्ती को अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार लुम्बिनी जाने कार्यक्रम तय भएको छ।

लुम्बिनी विकास कोषका अनुसार यसपटक प्रधानमन्त्रीले परम्परागत रूपमा गरिँदै आएको औपचारिक सम्बोधन नगरी केवल धार्मिक पूजा तथा अनुष्ठानमा मात्र सहभागी हुनेछन्।

विगतका वर्षहरूमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले बुद्ध जयन्तीका अवसरमा सम्बोधन गर्ने चलन रहँदै आए पनि यसपटक कार्यक्रम तालिकाबाट भाषणलाई हटाइएको जनाइएको छ।

कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार कार्यक्रम बिहान ५ बजे सुरु भई ६ बजेभित्र सम्पन्न हुनेछ। प्रधानमन्त्रीसँगै खड्कराज पौडेल (गनेश) र सांसद तौफिक अहमद खान पनि कार्यक्रममा सहभागी हुनेछन्।

लुम्बिनी विकास कोषको विधानअनुसार प्रधानमन्त्री संरक्षक रहने व्यवस्था छ।

यसपटकको बुद्ध जयन्ती समारोह औपचारिक भाषणभन्दा बढी धार्मिक पक्षमा केन्द्रित हुने देखिएको छ, जसले कार्यक्रमलाई अझ सरल र आध्यात्मिक बनाउने अपेक्षा गरिएको छ।