विराटपाटी डेस्क , बेइजिङ,नेपालको पूर्वी पहाड इलाममा उत्पादन हुने विशेष ‘एक सुइरो चिया’ले अन्तर्राष्ट्रिय मञ्चमा फेरि एकपटक आफ्नो अलग पहिचान देखाएको छ। एसिया अफ्रिका कालाे चिया साटासाट महाेत्सबमा प्रस्तुत गरिएको यो चियाले चीनसहित विभिन्न देशका विज्ञ, व्यापारी र सहभागीहरूको ध्यान खिच्न सफल भएको हो।

चीनको हुवई प्रदेश अन्तर्गत पर्ने लीछ्वानमा आयोजित उक्त महोत्सवमा इलामको ‘एक सुइरो’ चिया विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो। पात नफुटेको कोमल मुनाबाट तयार गरिने यो सुनौलो झल्को दिने कालो चिया स्वाद र गुणस्तरका कारण चर्चामा आएको हो।

सन् २०२४ मा उत्पादन गरिएको यस चियालाई उद्घाटनकै दिन २०० भन्दा बढी सहभागीमाझ चखाइएको थियो। पाँच देशका प्रतिनिधिहरू सहभागी रहेको टेस्टिङ कार्यक्रममा नेपाली चियाले सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ।

बेइजिङस्थित नेपाली दूतावासकी आर्थिक मन्त्री पार्वती अर्यालका अनुसार नेपालको चिया उच्च पहाडी भूगोल, अर्गानिक उत्पादन र अर्थोडक्स विधिका कारण अन्तर्राष्ट्रिय बजारमा आकर्षण बढ्दै गएको छ।

उनले चीनको ऐतिहासिक ‘टी हर्स रुट’ अवधारणालाई पुनर्जीवित गर्दै नेपालको इलामदेखि लुम्बिनी  सम्म चिया–पर्यटन विकास गर्न सकिने सम्भावना पनि औंल्याइन्।

महोत्सव अवधिभर चीन, कोरिया लगायतका देशका चिया विज्ञ, अनुसन्धानकर्ता र निर्यातकर्ताबीच अनुभव आदानप्रदान तथा बजार विस्तारका विषयमा छलफल भएको थियो।

‘एक सुइरो चिया’ अब केवल स्थानीय उत्पादन मात्र नभई विश्व बजारमा नेपाललाई चिनाउने सम्भावनायुक्त ब्रान्डका रूपमा उदाउँदै गएको देखिन्छ।