‘छ माया छपक्कै २’ को छायांकन सुरु हुने तयारी, शुभमुहूर्त सम्पन्न
२०८३ बैशाख १४, सोमबार १३:३८
काठमाडौँ । अभिनेता दीपकराज गिरी अभिनीत बहुप्रतिक्षित फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आगामी वैशाख १८ गतेदेखि सुरु हुने भएको छ। फिल्मको शुभमुहूर्त आइतबार सूर्यविनायकस्थित गणेश मन्दिरमा विधिपूर्वक सम्पन्न गरिएको हो।
२०७६ सालमा प्रदर्शन भई सुपरहिट बनेको ‘छ माया छपक्कै’ को सिक्वेलको रूपमा निर्माण हुन लागेको यो फिल्ममा मूल टिम नै पुनः एकसाथ देखिने भएको छ। निर्देशक दीपेन्द्र लामाले नै दोस्रो श्रृंखलाको निर्देशन सम्हाल्नेछन्।
फिल्ममा मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी पुनः दोहोरिएका छन्। यसपटक मोडल तथा अभिनेत्री सनिशा भट्टराई पनि शीर्ष भूमिकामा देखिने भएकी छन्। ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’ पछि यो उनको तेस्रो फिल्म हुनेछ।
निर्माण पक्षले पहिलो भागको सफलतालाई निरन्तरता दिँदै दोस्रो भागलाई अझ आकर्षक र सामाजिक सन्देशयुक्त बनाउने लक्ष्य राखेको जनाएको छ।




