कोशीका मन्त्रीलाई कांग्रेसको स्पष्टीकरण
२०८३ बैशाख १६, बुधबार १९:५०
नेपाली कांग्रेसभित्र अनुशासन कडाइ गर्न खोजिएको देखिएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा निर्वाचनका क्रममा आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको आरोप लगाउँदै तीन जना प्रदेश मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण मागेको हो।
बुधबार बसेको समितिको बैठकले अन्तर्घात भएको निष्कर्ष निकाल्दै सम्बन्धित व्यक्तिहरूलाई पाँच दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। स्पष्टीकरण माग गरिएका मन्त्रीहरूमा कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार,लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, र लुम्बिनी प्रदेशकै यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने रहेका छन्
यसैगरी कारबाही प्रक्रियामा परेका अन्य नेताहरूमा लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल, मधेश प्रदेशका जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर राय छन्।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, सबैलाई पत्रमार्फत स्पष्टीकरण सोधिएको छ र तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ पेश गर्न भनिएको छ।
पार्टीले निर्वाचनका बेला अनुशासन उल्लंघन गर्नेहरूमाथि छानबिनलाई तीव्र बनाएको संकेत यो निर्णयले दिएको छ।




