काठमाडौंसहित देशभर हावाहुरीसहित वर्षा, सतर्क रहन आग्रह
२०८३ बैशाख १६, बुधबार २०:११
काठमाडौंसहित देशका विभिन्न स्थानमा आज साँझ हावाहुरीसहित वर्षा भइरहेको छ। मौसममा आएको अचानक परिवर्तनसँगै विशेषगरी लुम्बिनी प्रदेशदेखि पूर्वतर्फका धेरै क्षेत्रमा हावाहुरीसहित पानी परेको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ। उनका अनुसार अन्य प्रदेशका केही स्थानमा पनि हावाहुरी चलिरहेको छ।
काठमाडौं उपत्यकामा समेत तीव्र हावाहुरी चलेको छ। मौसमविद्का अनुसार यहाँ प्रतिसेकेन्ड १९ मिटर (करिब प्रतिघण्टा ७० किलोमिटर) को वेगमा हावा चलेको मापन गरिएको छ, जुन सामान्यभन्दा निकै तीव्र मानिन्छ।
यस प्रकारको हावाहुरीले रूख ढल्ने, विद्युत् अवरुद्ध हुने, साना संरचना क्षति हुने तथा यात्रा प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
विशेषगरी खुला स्थानमा नबस्न, कमजोर संरचनाबाट टाढा रहन तथा आवश्यक परेमा मात्र बाहिर निस्कन सुझाव दिइएको छ।
मौसमविद्हरूका अनुसार यो प्रणाली केही समयसम्म जारी रहन सक्ने भएकाले आगामी केही घण्टा थप सावधानी अपनाउन आवश्यक देखिएको छ।




