कर्मा तेञ्जिङको महाराजगञ्जमा ४ अर्ब लगानीमा ‘ले मेरिडियन’ पाँचतारे होटल निर्माण हुँदै
२०८३ बैशाख १७, बिहीबार १०:०७
काठमाडौंको महाराजगञ्ज क्षेत्रमा करिब ४ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ। कर्मा हस्पिटालिटी प्रालिले ‘ले मेरिडियन’ ब्रान्डअन्तर्गत होटल सञ्चालन गर्ने तयारी गरेको हो।
कुल ४ अर्ब २ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा ७३ प्रतिशत कर्जा र २७ प्रतिशत इक्विटी रहनेछ। कन्सोर्टियम फाइनान्सिङमार्फत ऋण व्यवस्थापन गरिएको भए पनि आवश्यक इक्विटी जुटाउनु चुनौतीका रूपमा देखिएको छ।
सन् २०२४ मा स्थापना भएको कम्पनीले निर्माण गर्ने होटलमा १७० वटा कोठा रहनेछन्। अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापनका लागि कम्पनीले लक्जरी होटल व्यवस्थापन समूहसँग सम्झौता गरिसकेको जनाएको छ।
हालसम्म कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ पुगेको छ, जुन कुल इक्विटीको करिब आधा हो। परियोजनाको वित्तीय प्रगति करिब ३२ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोमिटर दूरीमा पर्ने महाराजगञ्ज क्षेत्रमा होटल निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ।
कर्मा तेञ्जिङको पूर्ण स्वामित्व रहेको कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी करिब ३ अर्ब रुपैयाँ बराबरको कर्जा रेटिङ गराइसकेको छ। साथै, तेञ्जिङले सोही क्षेत्रमा १६२ युनिटको कर्मा रेसिडेन्स परियोजना पनि अघि बढाइरहेका छन्।
पर्यटन पूर्वाधार विस्तार भइरहेका बेला काठमाडौंमा अन्तर्राष्ट्रिय ब्रान्डको नयाँ पाँचतारे होटल थपिनुले उच्चस्तरीय आतिथ्य सेवामा प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।




