Oplus_131072

विराटपाटी काठमाडौं, वैशाख १७ — सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यसहित अब नापी तथा मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन हुने भएको छ। यसका लागि देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले एक साताअघि सूचना जारी गर्दै इच्छुक स्थानीय तहलाई आवेदन दिन आह्वान गरेको थियो। सोही अनुसार धरान, घोराही, धनगढी उपमहानगरपालिका तथा भरतपुर र पोखरा महानगरपालिका लगायतका स्थानीय तहले सेवा सञ्चालन गर्न तयार रहेको जानकारी दिएका छन्।

मन्त्रालयले प्राप्त निवेदनमाथि अध्ययन सुरु गरिसकेको छ। पहिलो चरणमा केही छनोट गरिएका पालिकाबाट सेवा सञ्चालन गरिनेछ भने बाँकीमा क्रमशः विस्तार गरिने योजना छ।

छनोट प्रक्रियामा सेवाग्राहीको चाप, पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार मानिने बताइएको छ। कम भीडभाड भएका र अत्यधिक चाप रहेका दुवै प्रकारका पालिकालाई प्राथमिकतामा राखिनेछ।

यसका साथै, जिल्ला स्थित नापी र मालपोत कार्यालयका कर्मचारीलाई स्थलगत अनुगमनका लागि खटाइएको छ। स्थानीय तहमा सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक, जनशक्ति तथा सामग्री व्यवस्थापन गरिनेछ भने कर्मचारीलाई तालिमसमेत प्रदान गरिनेछ।

मन्त्रालयका अनुसार एक साताभित्रै प्रारम्भिक तयारी पूरा गरी केही पालिकाबाट सेवा सुरु गरिनेछ।

 यो पहलले सेवाग्राहीलाई केन्द्र धाउनुपर्ने झन्झट घटाउने, समय र खर्च बचत गर्ने तथा स्थानीय शासनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।