काठमाडौं, वैशाख २० — नेपाली भू-भाग प्रयोग गरी लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा नेपालले स्पष्ट आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाउँदै आफ्नो अडान पुनः दोहोर्‍याएको हो।

मन्त्रालयका अनुसार सुगौली सन्धि ले निर्धारण गरेको सीमाअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हुन्। यस विषयमा सरकार कुनै भ्रममा नरहेको र आफ्नो दाबीमा दृढ रहेको मन्त्रालयले जनाएको छ।

लिपुलेक हुँदै तीर्थयात्रा सञ्चालन गर्ने प्रयासप्रति नेपालले पहिले पनि आपत्ति जनाउँदै आएको थियो। यस पटक पनि सोही विषयलाई पुनः उठाउँदै सीमाविवाद समाधान नहुँदासम्म यस्ता गतिविधि नगर्न भारतलाई आग्रह गरिएको छ। साथै, चीनलाई समेत उक्त क्षेत्र नेपालको भएको तथ्य औपचारिक रूपमा जानकारी गराइएको मन्त्रालयले स्पष्ट पारेको छ।

नेपालले दुवै छिमेकीसँगको सम्बन्धलाई सम्मान गर्दै ऐतिहासिक तथ्य, प्रमाण र नक्साका आधारमा वार्तामार्फत समस्या समाधान गर्नुपर्ने धारणा राख्दै आएको छ। मन्त्रालयले संवादमार्फत दीर्घकालीन समाधान खोज्न नेपाल सधैं तयार रहेको सन्देश दिएको छ।