काठमाडौं, २३ वैशाख — नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वतः अध्यक्षमा पदस्थापन भएका छन्। उनको कार्यकाल आगामी तीन वर्ष रहनेछ।

नयाँ कार्यसमितिमा विभिन्न समूहबाट उपाध्यक्ष र सदस्यहरू चयन भएका छन्। जिल्ला तथा नगर उद्योग वाणिज्य समूहबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने वस्तुगत समूहबाट नरेशलाल श्रेष्ठ र एसोसिएट समूहबाट प्रबलजंग पाण्डे विजयी भएका छन्।

यसैगरी, महासंघको कार्यसमितिमा जिल्ला, नगर, प्रदेश, वस्तुगत तथा एसोसिएट समूहबाट ठूलो संख्यामा सदस्यहरू निर्वाचित भएका छन्। प्रदेशगत प्रतिनिधित्वअन्तर्गत कोशीदेखि सुदूरपश्चिमसम्मका प्रतिनिधिहरू समेटिएका छन्, जसले महासंघलाई समावेशी र सन्तुलित बनाउने अपेक्षा गरिएको छ।

महासंघ निजी क्षेत्रको प्रमुख छाता संगठन भएकाले नयाँ नेतृत्वसँग उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।