बेकह्याम र मेसीसँग हिमालय जेटको सहकार्य
२०८३ बैशाख २५, शुक्रबार १५:५४नेपाललाई विश्व पर्यटनको केन्द्र बनाउने लक्ष्य

काठमाडौं । नेपाली मूलका उद्यमी तथा ‘हिमालय जेट’का संस्थापक दीपेन्द्र गुरुङले विश्वप्रसिद्ध फुटबल हस्ती डेभिड बेकह्याम र लियोनल मेसीसँगको सहकार्यलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत बेकह्यामसँगको तस्वीर सार्वजनिक गर्दै हिमालय जेट र अमेरिकी फुटबल क्लब इन्टर मियामीबीचको सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन सक्ने बताएका हुन्।
उनका अनुसार नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले यो पहल अगाडि बढाइएको हो। उनले नेपाल आठ हजार मिटरभन्दा अग्ला विश्वका आठ हिमाल रहेको अद्वितीय देश भएको उल्लेख गर्दै विश्वभरका पर्यटकको “बकेट लिस्ट” मा नेपाललाई पुनः स्थापित गर्नुपर्ने बताएका छन्।
गुरुङले विगत तीन दशकमा राजनीतिक अस्थिरता, द्वन्द्व, भूकम्प, महामारी तथा भ्रष्टाचारका कारण नेपालको पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको धारणा राखेका छन्। अब अन्तर्राष्ट्रिय सहकार्य र विश्वप्रसिद्ध व्यक्तित्वहरूको सहभागितामार्फत नेपालको पर्यटन, हवाई सेवा र अन्तर्राष्ट्रिय छविलाई नयाँ उचाइमा पुर्याउन सकिने उनको विश्वास छ।
डेभिड बेकह्याम अमेरिकी फुटबल क्लब इन्टर मियामीका सहमालिक हुन् भने लियोनल मेसी सोही क्लबका कप्तान तथा स्टार खेलाडी हुन्।
नेपाली मूलका बेलायती व्यवसायी गुरुङले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ स्थापना गरेका थिए। उनी सन् २०२२ मा आयोजित ७१औँ विश्व सुन्दरी प्रतियोगिताका सहआयोजकसमेत रहिसकेका छन्। साथै उनले ‘प्राइभा लक्जरी सिनेमाज’ नामक अन्तर्राष्ट्रिय सिनेमा चेन पनि सञ्चालन गर्दै आएका छन्।




