एसईई नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
२०८३ बैशाख २७, आईतवार १२:५५
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आगामी मंगलबार सार्वजनिक गर्ने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ।
बोर्डका सूचना अधिकारीका अनुसार प्राविधिक समस्या नआएमा निर्धारित समयमै नतिजा सार्वजनिक गरिनेछ। यस वर्षको एसईई परीक्षा चैत महिनाको दोस्रो सातादेखि सञ्चालन भएको थियो।
बोर्डका तथ्यांकअनुसार यस वर्ष कुल ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए। नियमित तथा ग्रेड वृद्धि गरी ठूलो संख्यामा विद्यार्थी सहभागी भएका हुन्। छात्राको संख्या यस वर्ष पनि बढी देखिएको छ।
परीक्षा देशभरका ११ हजारभन्दा बढी विद्यालयका विद्यार्थीले दिएका थिए। परीक्षा सकेपछि उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै जाँच गरिएको थियो।
नतिजा सार्वजनिकसँगै विद्यार्थी, अभिभावक तथा विद्यालयहरूमा उत्सुकता बढेको छ। बोर्डले नतिजा प्रणालीलाई अझ पारदर्शी र छिटो बनाउने प्रयास भइरहेको जनाएको छ।




