काठमाडौं । रास्वपा पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सामाजिक सञ्जालमा भाइरल बन्ने प्रतिस्पर्धाबाट टाढा रहन आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले लोकप्रियताभन्दा जनताका मुद्दा र विधेयकमाथिको कामलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले समितिमा धेरै क्यामरा देख्दा सांसदहरूमा अनावश्यक उत्तेजना आउने प्रवृत्ति रहेको उल्लेख गर्दै बोलेका कुरा मतदातासम्म तुरुन्त पुग्ने सोचले चर्को शैली अपनाउने अवस्था देखिएको बताए। यस्तो व्यवहार वास्तविक भावनाभन्दा अभिनयजस्तो नदेखियोस् भन्नेमा सांसद स्वयं सचेत हुनुपर्ने उनको भनाइ थियो।

लामिछानेले आफ्नो बारेमा राम्रो चर्चा होस् भन्ने चाहना आफूमा पनि रहेको स्वीकार गर्दै त्यसलाई स्वाभाविक मानिए पनि लोकप्रियताको मोहमा जनताका मुख्य मुद्दा ओझेलमा पर्न नहुने बताए। उनले अब परिणाम देखाउने समय आएको उल्लेख गर्दै सांसदहरूलाई काममुखी राजनीति गर्न सुझाव दिए।