नौ महिनामै १ खर्ब ६५ अर्ब बाहिरियो
२०८३ बैशाख २९, मंगलवार १३:२१विदेश अध्ययनमै गयो १ खर्ब १२ अर्बभन्दा बढी रकम

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपाली नागरिक विदेश जाँदा एक खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी रकम देशबाट बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल १ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ विभिन्न प्रयोजनमा विदेशिएको हो।
त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक अध्ययनतर्फ गएको देखिएको छ। विदेश अध्ययनका लागि गएका विद्यार्थीहरूले मात्रै १ खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ लगेका छन्। यसले नेपाली युवाको उच्च शिक्षा रोजाइ अझै विदेशमै केन्द्रित रहेको संकेत गर्छ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल १ खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको थियो। यस वर्ष तुलनात्मक रूपमा २.६ प्रतिशतले कमी आए पनि अध्ययनका नाममा बाहिरिने रकम भने अझै उच्च स्तरमै रहेको देखिन्छ। गत वर्ष विद्यार्थीहरूले १ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ विदेश लगेका थिए।
राष्ट्र बैंकको तथ्यांकले पर्यटन क्षेत्रतर्फ पनि मिश्रित संकेत गरेको छ। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको खर्च अघिल्लो वर्षको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको नौ महिनामा पर्यटकहरूले नेपालमा ६४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन्, जबकि अघिल्लो वर्ष सोही अवधिमा यस्तो खर्च ६६ अर्ब ६६ करोड रुपैयाँ थियो।
अर्थविद्हरूका अनुसार अध्ययन, रोजगारी र बसाइँसराइका कारण ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिनु दीर्घकालीन अर्थतन्त्रका लागि चुनौतीपूर्ण हुन सक्छ। अर्कोतर्फ रेमिट्यान्स आप्रवाहले अर्थतन्त्र धाने पनि उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा पुँजी पलायनको दबाब कायमै रहेको विश्लेषण गरिएको छ।




