नाफामा उकालो लाग्दै नेपाल टेलिकम, नौ महिनामै ६ अर्ब २७ करोड आम्दानी
२०८३ बैशाख ३०, बुधबार १७:३३
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले नौ महिनाको अवधिमा ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ९.८५ प्रतिशत बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब ७१ करोड रुपैयाँ हाराहारीमा सीमित थियो।
कम्पनीको सञ्चालन आयमा पनि सामान्य तर सकारात्मक वृद्धि देखिएको छ। चालु आवको तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय २५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २.४२ प्रतिशतले बढी हो। कुल आम्दानी समेत वृद्धि भएर २८ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ।
टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत सुधार देखिएको छ। अघिल्लो वर्ष ४२ रुपैयाँ आसपास रहेको ईपीएस अहिले बढेर ४६.४७ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
वित्तीय सुधारको प्रमुख आधार जीएसएम सेवाबाट प्राप्त हुने राजस्व वृद्धि र खर्च नियन्त्रणलाई मानिएको छ। कम्पनीका अनुसार मोबाइल सेवातर्फको आम्दानी २.७६ प्रतिशतले बढ्दा ह्रासकट्टी खर्चमा उल्लेख्य कमी आएको छ। गत वर्षको तुलनामा ह्रासकट्टी खर्च करिब ३८ करोड रुपैयाँले घटेको विवरणमा उल्लेख छ।
यद्यपि बजारमा ब्याजदर निरन्तर घट्दै जाँदा कम्पनीको ब्याज आम्दानीमा भने असर परेको छ। ब्याज आम्दानी करिब २० प्रतिशतले घटेको भए पनि सञ्चालन खर्च व्यवस्थापन प्रभावकारी हुँदा समग्र नाफा वृद्धि कायम राख्न कम्पनी सफल भएको देखिन्छ।
कर, ब्याज तथा ह्रासकट्टीअघिको मुनाफा (EBITDA) समेत बढेर १४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। समग्र सूचकांक हेर्दा नेपाल टेलिकम ले प्रतिस्पर्धी दूरसञ्चार बजारबीच सेवा विस्तारसँगै वित्तीय सन्तुलन सुधार गर्ने प्रयासलाई निरन्तरता दिएको देखिन्छ।




