चितवन ,चितवनमा मौरीपालनलाई आधुनिक र व्यावसायिक बनाउने उद्देश्यसहित कृत्रिम प्रविधिबाट उन्नत जातका मौरी रानो उत्पादन तथा वितरण अभियान सुरु गरिएको छ । मौरीपालन विकास कार्यक्रम भण्डाराले यस वर्ष एक हजार २६० वटा रानो किसानलाई सहुलियत दरमा वितरण गर्ने लक्ष्य राखेको जनाएको छ ।

कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार हालसम्म ९५ जना किसानलाई ५१२ वटा रानो वितरण गरिसकिएको छ । तीमध्ये १३९ वटा रानो कार्यालयमै उत्पादन गरिएको हो भने बाँकी ३७३ वटा विभिन्न मौरी फार्मबाट संकलन गरिएको हो ।

उन्नत जातका रानो प्रयोग गर्दा मौरीको नश्ल सुधार भई मह उत्पादनमा उल्लेख्य वृद्धि हुने कार्यालयको दाबी छ । पुराना रानो बुढो हुने, रोग लाग्ने तथा घार धान्न नसक्ने अवस्थाले उत्पादन घटाउने भएकाले किसानहरूले नियमित रूपमा रानो प्रतिस्थापन गर्ने गरेका छन् ।

कार्यक्रमअन्तर्गत किसानलाई ‘ग्राफ्टिङ’ प्रविधिबाट रानो उत्पादन गर्ने तालिमसमेत दिइँदै आएको छ । हाल जिल्लाका १६ जना किसान तालिममा सहभागी रहेका छन् । तालिमपछि किसान आफैंले घरमै उन्नत जातका रानो उत्पादन गर्न सक्ने र यसले मह उत्पादनसँगै आयआर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

यस वर्ष कृत्रिम प्रविधिबाट १० वटा रानो उत्पादन गरिएकामध्ये चार वटा मात्रै सफलतापूर्वक बाँच्न सकेका छन् । आगामी दिनमा प्रविधिको सुधारसँगै थप रानो सुरक्षित रूपमा उत्पादन गर्ने लक्ष्य कार्यालयले राखेको छ ।

नेपालमा पछिल्ला वर्षहरूमा मौरीपालन व्यवसायप्रति आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगले उत्पादन वृद्धि मात्र नभई ग्रामीण अर्थतन्त्र सुदृढ बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।