प्रधानमन्त्री कार्यालयको नाम जोडेर कर्मचारीलाई धम्क्याउने युवक पक्राउ
२०८३ जेष्ठ २, शनिबार १७:३९
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले सुर्खेत घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई पक्राउ गरेको जनाएको छ।
प्रकाश खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएका थिए। उक्त अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै घटनाले व्यापक चर्चा पाएको थियो।
घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै सुरक्षा तथा अनुसन्धान निकायलाई कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। कार्यालयले राष्ट्रसेवक कर्मचारीमाथि भय, त्रास र दबाब सिर्जना गर्ने गतिविधि निन्दनीय र अक्षम्य भएको उल्लेख गरेको छ।
साथै, प्रधानमन्त्री कार्यालय, सचिवालय वा उच्च निकायको नाम प्रयोग गरी आउने शंकास्पद फोन वा दबाबमा नपर्न र आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन सबैलाई आग्रह गरिएको छ।




