काठमाडौं विराटपाटी , नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार सक्रिय भएको जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सबै संयन्त्र परिचालन गरेर नेपाललाई उक्त सूचीबाट मुक्त गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एपीजी (एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ) अन्तर्गतको आईसीआरजी कार्ययोजनासम्बन्धी छलफलमा अर्थमन्त्री वाग्लेले नेपालले पछिल्लो समय सूचकहरूमा सुधार गरेको दाबी गरे।

उनका अनुसार ग्रे लिस्टबाट बाहिरिन तत्काल गर्नुपर्ने र नियमित रूपमा अघि बढाउनुपर्ने कामहरू सम्बन्धित सरकारी निकायमार्फत भइरहेका छन्। सरकारले त्यसको निरन्तर मूल्यांकनसमेत गरिरहेको बताइएको छ।

अर्थमन्त्री वाग्लेले सुशासन सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै जनताले पछिल्लो समय सुधारको अनुभूति गर्न थालेको दाबी गरे। प्रधानमन्त्रीको नेतृत्वमा सुशासन र विकासलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको उनको भनाइ थियो।

यद्यपि एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले भने नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै धेरै काम गर्न बाँकी रहेको टिप्पणी गरेका छन्।

सम्पत्ति शुद्धीकरण नियन्त्रण, वित्तीय पारदर्शिता, शंकास्पद कारोबार निगरानी र कानुनी कार्यान्वयन प्रभावकारी बनाउने विषय अहिले नेपालको मुख्य चुनौतीका रूपमा हेरिएको छ।