काठमाडौं । बूढानीलकण्ठमा निर्माण सम्पन्न भएको बाल अस्पताल “किओच” को साँचो हस्तान्तरण कार्यक्रममा जगद्गुरु शंकराचार्य विधुशेखर भारती ले शिक्षा, स्वास्थ्य र दानलाई सभ्य समाज निर्माणको मुख्य आधार बताएका छन्।

उनले धन कमाउनु मात्रै ठूलो कुरा नभई त्यसलाई समाजको हितमा प्रयोग गर्न सक्नु नै वास्तविक पुण्य भएको उल्लेख गरे। “विद्या, चिकित्सा र दानले मात्रै समाजलाई सही दिशामा अघि बढाउँछ,” उनले भने, “पैसा भएर मात्रै हुँदैन, त्यसलाई मानव सेवामा प्रयोग गर्न जान्नुपर्छ।”

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ ले व्यक्तिगत लगानीमा करिब ७१ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिदिएको अस्पताल भवन शनिबार विशेष समारोहबीच हस्तान्तरण गरिएको हो। जगद्गुरु भारतीमार्फत अस्पतालका अध्यक्ष डा. भगवान कोइराला लाई साँचो हस्तान्तरण गरिएको थियो।

समारोहमा बोल्दै जगद्गुरुले सामूहिक प्रयासबिना समाज परिवर्तन सम्भव नहुने धारणा राखे। “सबै जना नेतृत्व खोज्ने तर जिम्मेवारी बहन गर्न नचाहने प्रवृत्तिले विकास रोक्छ,” उनले भने, “समाज बनाउन सबै मिलेर अघि बढ्नुपर्छ।”

अस्पताल निर्माणमा सहयोग पुर्‍याउने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गर्दै डा. कोइरालाले नेपालका बालबालिकाको उपचार सेवामा यो संस्था महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले किओच अस्पताललाई नेपालका लागि ऐतिहासिक उपलब्धि भन्दै यसको दीर्घकालीन प्रभाव रहने बताइन्।

बाल स्वास्थ्य सेवामा नयाँ आशा बोकेको किओच अस्पताललाई निजी क्षेत्र, धर्म र सामाजिक सेवाको संयुक्त उदाहरणका रूपमा समेत हेरिएको छ।