स्वास्थ्य मन्त्रालयको कडा कदम
२०८३ जेष्ठ १२, मंगलवार २१:२६पूर्व र बहालवाला कर्मचारीकाे सम्पत्ति छानबिन हुने

काठमाडौ ,स्वास्थ्य क्षेत्रभित्र बढ्दो अनियमितता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका बेला स्वास्थ्य मन्त्रालयले उच्च तहका अधिकारीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले २०६२/०६३ यता सहसचिव वा सोभन्दा माथिल्लो तहमा कार्यरत तथा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका बहालवाला र अवकाशप्राप्त कर्मचारीहरूको विस्तृत विवरण माग गरेको हो।
सम्पत्ति छानबिन आयोगको पत्रअनुसार मन्त्रालयले मातहतका विभाग, प्रतिष्ठान र अस्पतालहरूलाई तीन दिनभित्र सम्बन्धित अधिकारीहरूको नाम, ठेगाना, सम्पर्क नम्बर र इमेलसहितको विवरण पठाउन निर्देशन दिएको छ। आर्थिक वर्ष २०४८ अघि सेवा प्रवेश गरी पछि अवकाश भएका कर्मचारीहरूलाई समेत दायरामा समेटिएको छ।
स्वास्थ्य प्रशासनभित्र लामो समयदेखि उठ्दै आएको पारदर्शिता, जिम्मेवारी र आर्थिक शुद्धताको बहसबीच मन्त्रालयको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्वास्थ्य क्षेत्रमा नीतिगत निर्णय, बजेट परिचालन र खरिद प्रक्रियामाथि बेला–बेलामा प्रश्न उठ्दै आएका कारण यो छानबिनले प्रशासनिक उत्तरदायित्वलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालय स्रोतका अनुसार सम्पत्ति विवरण सङ्कलन, अध्ययन र प्रतिवेदन तयार पार्ने उद्देश्यले प्रक्रिया सुरु गरिएको हो। यसले आगामी दिनमा स्वास्थ्य प्रशासनभित्र सुशासन र निगरानी प्रणालीलाई थप कडाइका साथ अघि बढाउने संकेतसमेत दिएको छ।





