नेपालमा पर्यटनमा मेरियटको आक्रामक विस्तार, ४० अर्बभन्दा बढी लगानी भित्रिँदै
२०८३ जेष्ठ २३, शनिबार १९:१७
काठमाडौं । नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी बढ्दै गएको छ। विश्वप्रसिद्ध होटल समूह मेरियट इन्टरनेशनलले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने क्रममा नयाँ होटल तथा ब्रान्ड विस्तारको योजना अघि बढाएको छ।
हाल नेपालमा मेरियट काठमाडौं, फेयरफिल्ड बाई मेरियट, मोक्सी काठमाडौं, अलफ्ट काठमाडौं ठमेल तथा द सोल्टी काठमाडौं सञ्चालनमा रहेका छन्। आगामी केही वर्षभित्र मेरियट समूहअन्तर्गत थप चार नयाँ ब्रान्ड नेपाल भित्रिने निश्चित भएको छ।
चौधरी समूहअन्तर्गतको सीजी हस्पिटालिटीले काठमाडौंको ठमेल क्षेत्रमा करिब १५ अर्ब रुपैयाँ लगानीमा विश्वप्रसिद्ध लक्जरी होटल ‘द रिट्ज–कार्लटन’ निर्माण गरिरहेको छ। साथै, ‘वेस्टिन होटल एण्ड रिसोर्ट’ ब्रान्डसँग पनि रणनीतिक सहकार्यको तयारी भइरहेको छ।
यता अष्ट्रेलियामा स्थापित नेपाली व्यवसायी शेष घलेले काठमाडौंको लैनचौरमा करिब १३ अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न गरेको होटललाई मेरियट समूहकै नयाँ ब्रान्डमार्फत सञ्चालन गर्ने तयारी गरेका छन्। यसबारे औपचारिक घोषणा छिट्टै हुने बताइएको छ।
एमएस समूहअन्तर्गतको एभरेष्ट हस्पिटालिटीले भक्तपुरमा करिब ३०० कोठा क्षमताको पाँचतारे डिलक्स होटल निर्माण गरी ‘जेडब्लु मेरियट’ ब्रान्डमा सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ।
नेपालमा मेरियटको यात्रा २०७६ सालमा मेरियट काठमाडौं सञ्चालनसँगै नयाँ चरणमा प्रवेश गरेको थियो। त्यसयता फेयरफिल्ड, मोक्सी, अलफ्ट लगायतका होटल सञ्चालनमा आएका छन् भने द सोल्टी काठमाडौं पनि मेरियटको ‘अटोग्राफ कलेक्सन’ अन्तर्गत आबद्ध भइसकेको छ।
विश्वका १४० भन्दा बढी देशमा फैलिएको मेरियट इन्टरनेशनलका ९ हजार ७ सयभन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्। नेपालमा भइरहेको यो विस्तारलाई पर्यटन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय होटल ब्रान्डको बढ्दो उपस्थितिले नेपालमा उच्चस्तरीय पर्यटन, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नेछ।




