आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, सर्टलिस्ट सार्वजनिक
२०८३ जेष्ठ २३, शनिबार २१:३६
काठमाडौं, जेठ २३ — देशका आठ सार्वजनिक विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका नामहरू सार्वजनिक गरिएको छ।
उपकुलपति नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
सरकारले लागू गरेको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार पहिलो पटक एकीकृत र प्रतिस्पर्धात्मक प्रक्रियाबाट उपकुलपति नियुक्ति गर्न लागिएको हो। नयाँ व्यवस्थाले नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता र निष्पक्षतालाई प्राथमिकता दिएको जनाइएको छ।
सार्वजनिक गरिएको सूचीअनुसार त्रिभुवन, पोखरा, पूर्वाञ्चल, कृषि तथा वन विज्ञान, मध्यपश्चिम र राजर्षि जनक विश्वविद्यालयका लागि समान १०/१० जना उम्मेदवार छनोटमा परेका छन् भने लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सात जनाको नाम सर्टलिस्टमा समावेश गरिएको छ।
समितिले सर्टलिस्टमा परेका उम्मेदवारबारे सार्वजनिक राय, सुझाव तथा प्रतिक्रिया आगामी जेठ २५ गतेभित्र उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त सुझाव तथा विज्ञ मूल्याङ्कनका आधारमा अन्तिम नाम सिफारिस गरिने जनाइएको छ।
उपकुलपति पदका लागि आठ विश्वविद्यालयमा गरी कुल २१८ वटा आवेदन परेका थिए। प्रारम्भिक मूल्याङ्कनपछि विज्ञ समितिले दिएको अंकका आधारमा योग्य उम्मेदवारहरूको अल्पसूची तयार गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
सरकारले गत वैशाख २४ गते आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। त्यसपछि जेठ १३ गते बसेको छनोट तथा सिफारिस समितिको बैठकले योग्य आवेदकहरूको आवेदन स्वीकृत गरी मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो।
शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले विज्ञहरूको सहयोगमा मूल्याङ्कन गरी सर्टलिस्ट तयार गरेको हो। अब अन्तिम चरणको छनोटपछि सम्बन्धित विश्वविद्यालयका लागि उपकुलपति नियुक्तिको प्रक्रिया टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।






