कोरियन प्रविधि र नेपाली लगानीको संगम: नेपालमै सुरु भयो विश्वस्तरीय स्किन केयर उद्योग
२०८३ जेष्ठ २७, बुधबार १७:३८
काठमाडौँ, जेठ २७ – नेपाली सौन्दर्य प्रसाधन उद्योगमा नयाँ अध्याय थपिएको छ। कोरियन प्रविधि, अनुसन्धान र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै अन्तर्राष्ट्रियस्तरका स्किन केयर सामग्री उत्पादन सुरु गरिएको छ।
‘ओआरए’ ब्रान्डअन्तर्गत उत्पादन भइरहेको स्किन केयर सामग्रीका लागि ललितपुरको इमाडोलमा करिब ३५ करोड रुपैयाँको लगानीमा आधुनिक उद्योग स्थापना गरिएको कम्पनीले जनाएको छ। उद्योगले कोरियाली विज्ञान र उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन स्वदेशमै उपलब्ध गराउने लक्ष्य लिएको छ।
उद्योग सञ्चालन गरिरहेको एनके कस्मेटिक प्रालिका प्रमुख तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष विनोद कुँवरका अनुसार नेपाली बजारमा विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरका उत्पादन स्वदेशमै निर्माण गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको हो।
हाल कम्पनीले नौ प्रकारका स्किन केयर उत्पादन बजारमा ल्याइसकेको छ भने निकट भविष्यमा थप १० देखि १५ नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। उत्पादन क्षमता विस्तारसँगै एक सयभन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री स्वदेशमै उत्पादन गर्ने कम्पनीको योजना छ।
नेपाली तथा कोरियाली उद्यमीहरूको संयुक्त लगानीमा स्थापित कम्पनीलाई उत्पादन विकासका क्षेत्रमा कोरियाली सौन्दर्य सामग्री विज्ञ जेहो हुरले प्राविधिक सहयोग गरिरहेका छन्।
उद्योगले व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री क्षेत्रमा प्रत्यक्ष रूपमा २५ जना नेपालीलाई रोजगारी प्रदान गरेको छ। उद्योग सञ्चालनसँगै नेपालमा सौन्दर्य प्रसाधन उत्पादनको आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात सम्भावनालाई समेत बल पुग्ने अपेक्षा गरिएको छ।




