इटहरी, २८ जेठ — कोशी प्रदेशको पर्यटन तथा आतिथ्यता क्षेत्रमा नयाँ इतिहास रच्ने गरी इटहरीमा प्रदेशकै सबैभन्दा ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र निर्माण हुने भएको छ। करिब चार हजार जना एकैपटक अटाउन सक्ने क्षमताको एबी आतिथ्यता–विन्धम रिसोर्ट तथा सम्मेलन केन्द्र निर्माणको तयारी अघि बढेको हो।

परियोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापनको कार्य बुधबार सम्पन्न भएको छ। एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा वित्तीय व्यवस्थापन पूरा भएपछि निर्माण प्रक्रिया थप तीव्र हुने अपेक्षा गरिएको छ।

यो परियोजना एबी लगानी होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको हो। बस्नेतको समूहले यसअघि काठमाडौँमा ‘मर्क्युर’ र इटहरीमा ‘रामाडा बाई विन्धम’ नामका पाँचतारे होटल सञ्चालनमा ल्याइसकेको छ। इटहरीमा बन्न लागेको यो परियोजना उनको तेस्रो अन्तर्राष्ट्रियस्तरको आतिथ्यता परियोजना हुनेछ।

इटहरीको भाटभटेनी क्षेत्र नजिक निर्माण हुने यो केन्द्रले पूर्वी नेपाललाई गन्तव्य विवाह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, व्यापारिक प्रदर्शनी तथा ठूला कार्यक्रमहरूको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

पूर्वी नेपालमा आधुनिक र ठूलो क्षमताको सम्मेलन केन्द्रको आवश्यकता महसुस भइरहेका बेला यस परियोजनाले कोशी प्रदेशका साथै भारत, भुटान र बंगलादेशका आयोजकहरूलाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ।

विराटनगर–इटहरी–धरान आर्थिक तथा पर्यटन मार्गलाई राष्ट्रियस्तरको सम्मेलन गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुसार यो परियोजना अघि बढाइएको हो। भारत, भुटान र बंगलादेशबाट बढ्दो पर्यटक तथा व्यवसायिक आवागमन, पूर्वाधारको विस्तार र पर्यटन सम्भावनाले पूर्वी नेपाललाई दक्षिण एसियाको उदीयमान पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

परियोजना सम्पन्न भएपछि स्थानीय रोजगारी, होटल व्यवसाय, व्यापार तथा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। यसले इटहरीलाई मात्र होइन, समग्र कोशी प्रदेशलाई पर्यटन र सम्मेलन उद्योगको नयाँ केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ।