लाैकही सुनसरी , असार १ — भारतको बिहार राज्यस्थित नेपाल–भारत सीमासँग जोडिएको वीरपुरमा ६० सिट क्षमताको विमानस्थल निर्माण गर्ने तयारी अगाडि बढाइएको छ। प्रारम्भिक रूपमा २० सिट क्षमताको विमानस्थल बनाउने योजना रहे पनि अहिले परियोजनाको दायरा विस्तार गर्दै ठूलो क्षमताको विमानस्थल निर्माण गर्न लागिएको हो।

विमानस्थल क्षेत्रको स्थलगत निरीक्षणपछि भारतीय सांसद दिलेश्वर कामतले बढ्दो हवाई यात्रुको आवश्यकता र क्षेत्रीय विकासलाई ध्यानमा राखेर परियोजनाको क्षमता वृद्धि गरिएको जानकारी दिए। उनका अनुसार विमानस्थल सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रका नागरिकले सहज र छिटो हवाई सेवा प्राप्त गर्नेछन्।

नेपाल–भारत सीमासँग नजिक रहेको वीरपुरमा विमानस्थल निर्माण भएपछि नेपालको सप्तरी, सिरहा तथा आसपासका जिल्लाका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ। यसले सीमापार आवतजावतलाई सहज बनाउनुका साथै व्यापार, पर्यटन र आपत्कालीन सेवामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

स्थानीयवासीले विमानस्थललाई सीमावर्ती क्षेत्रको आर्थिक विकास र पूर्वाधार विस्तारका लागि महत्त्वपूर्ण परियोजनाका रूपमा लिएका छन्। परियोजना सम्पन्न भएपछि नेपाल–भारतबीचको जनस्तरीय सम्पर्क र आर्थिक गतिविधि थप मजबुत हुने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूका अनुसार सीमासँग जोडिएका यस्ता पूर्वाधारले दुवै देशका नागरिकलाई लाभ पुर्‍याउनुका साथै क्षेत्रीय विकासमा समेत नयाँ अवसर सिर्जना गर्न सक्छन्।