विराटनगर, असार १ – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट १२.७४ प्रतिशतले वृद्धि भएको जानकारी दिए।

सार्वजनिक बजेटअनुसार चालु खर्चतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ २० अर्ब ७५ करोड २० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै स्थानीय तहलाई हस्तान्तरण हुने बजेटका लागि ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ।

प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यसका साथै राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ, ससर्त अनुदानबाट ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ तथा विशेष अनुदानबाट ५५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बजेटमा सोझै भुक्तानी प्रणालीमार्फत २० करोड रुपैयाँ व्यवस्थापन गर्ने तथा ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट खर्च व्यहोर्ने योजना समेटिएको छ।

प्रदेश सरकारले आगामी वर्षको बजेटमार्फत पूर्वाधार विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि र आर्थिक गतिविधिको विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। बजेटले कृषि, उद्योग, पर्यटन, सडक पूर्वाधार तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई विशेष महत्व दिएको सरकारको दाबी छ।