विराटनगर, असार — विराटनगरमा असार ६ गते हुने सनातन सम्मेलनका लागि धार्मिक विद्वान तथा आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि नेपाल आउने भएका छन्।

सन् २००८ को ‘हिन्दु पुनर्जागरण पुरस्कार’ प्राप्त गिरि सम्मेलनका मुख्य वक्ता रहने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ र किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ समेत सहभागी हुनेछन्।

स्वामी गिरि असार ५ गते काठमाडौं अवतरण गर्ने कार्यक्रम छ। सोही दिन काठमाडौंमा हुने प्रबुद्ध नागरिक गोष्ठीमा पनि उनी सहभागी हुनेछन्। असार ७ गते उनले पशुपतिनाथ मन्दिर र वसन्तपुर दरबार क्षेत्रमा कुमारीदेवीको दर्शन गर्नेछन्। त्यसपछि उनी भारत फर्किने कार्यक्रम छ।

जूना अखडाका आचार्य महामण्डलेश्वरसमेत रहेका गिरि नागा साधु परम्पराको प्रमुख आध्यात्मिक नेतृत्वमध्ये एक मानिन्छन्। उनले लामो समयदेखि योग, वेदान्त र सनातन दर्शनमा अध्यापन तथा प्रवचन दिँदै आएका छन्। जलवायु परिवर्तन, वातावरण संरक्षण र धार्मिक सहिष्णुता जस्ता विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत उनी सक्रिय रहँदै आएका छन्।

आयोजकका अनुसार सम्मेलनले धार्मिक सहअस्तित्व र सनातन परम्पराको संवादलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।