पाल्पा, असार ९ – रासायनिक मलको अभाव, महँगो मूल्य र समयमै उपलब्ध नहुने समस्याबीच पाल्पाका किसानहरू परम्परागत हरियो मल ‘ढैँचा’तर्फ आकर्षित हुन थालेका छन्। जिल्लाका विभिन्न क्षेत्रमा किसानहरूले रासायनिक मलको सट्टा ढैँचा प्रयोग गरी धान खेती गर्न थालेका छन्।

माथागढी गाउँपालिका रुप्सेका किसान धनबहादुर विश्वकर्माले विगत तीन वर्षदेखि खेतमै ढैँचा उत्पादन गरेर धान खेती गर्दै आएका छन्। उनका अनुसार ढैँचाले माटोलाई आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै उत्पादनमा समेत सकारात्मक प्रभाव पारेको छ।

यस्तै, स्थानीय किसान छवि थापा र ईश्वरी खनालले पनि रासायनिक मलको प्रयोग घटाउँदै हरियो मललाई प्राथमिकता दिएका छन्। उनीहरूका अनुसार ढैँचाले माटोको उर्वराशक्ति कायम राख्नुका साथै उत्पादन लागतसमेत कम गरेको छ।

बीउ छरेको करिब २० देखि २५ दिनमा तयार हुने ढैँचा खेत जोत्ने क्रममा माटोमा मिसाइन्छ। केही दिनमै कुहिएर मलमा परिणत हुने भएकाले यसलाई प्राकृतिक र प्रभावकारी मलका रूपमा लिने गरिएको छ।

हाल पाल्पाको माडी फाँट क्षेत्रअन्तर्गत केसेनी, रुप्से, माडीपोखराथोक, मदनपोखरा, दोभान र झुम्साका किसानहरू पनि ढैँचाखेतीतर्फ आकर्षित भएका छन्।

कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यादवका अनुसार ढैँचाले माटोमा जैविक पदार्थ बढाउनुका साथै नाइट्रोजन, फस्फोरस र पोटासको सन्तुलन कायम गर्न मद्दत पुर्‍याउँछ। यसले वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने भएकाले यसको प्रयोग विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ।

रासायनिक मलको विकल्पका रूपमा ढैँचाको प्रयोग बढ्दै जाँदा किसानहरू आत्मनिर्भर कृषि प्रणालीतर्फ उन्मुख हुन थालेका छन्।