सरकारको आश्वासनले खुले इलामका ५३ चिया उद्योग
२०८३ असार ११, बिहीबार १५:४६
विर्तामोड विराटपाटी असार ११ – भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।
निर्यातमा समस्या उत्पन्न भएपछि गत असार १ गतेदेखि सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योग बन्द भएका थिए। उद्योगीहरूले उत्पादन भएको चिया भण्डारण गर्न कठिनाइ हुनुका साथै किसानलाई भुक्तानी दिन नसक्ने अवस्था सिर्जना भएपछि उद्योग बन्द गर्नुपरेको बताएका थिए।
स्थानीय तह र संघीय सरकारले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरू उद्योग सञ्चालन गर्न सहमत भएका हुन्। सूर्योदय अर्थोडक्स चिया उत्पादक सङ्घका अनुसार उद्योगहरूले किसानबाट हरियो चियापत्ती खरिद गर्न पनि पुनः सुरु गरेका छन्।
चिया क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ। साथै, स्थानीय सरकार, उद्योगी तथा सम्बन्धित मन्त्रालयबीच भएका छलफल सकारात्मक बनेपछि उद्योग खोल्ने वातावरण बनेको सङ्घले जनाएको छ।
सङ्घका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूद्वारा जारी विज्ञप्तिमा गुणस्तरीय र विषादीरहित चिया उत्पादनलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अर्थोडक्स चिया उत्पादन तथा वैकल्पिक अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत जोड दिइने जनाइएको छ।
यसैबीच, सूर्योदय नगरपालिकाले उत्पादन भएको चिया भण्डारणका लागि आवश्यक गोदाम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।




